रामेछाप । रामेछापको मन्थली नगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण गरेको तीनलाल पर्यटकीय पार्क अहिले मन्थली पार्क इन प्राइभेट लिमिटेड नामबाट सञ्चालनमा छ ।
नेपाली साहित्यका प्रथम सहिद कृष्णलाल अधिकारी, प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल जन्मिएको जिल्ला रामेछापको मन्थली नगरपालिका–१ गढवारिमा उहाँहरूको सम्झनामा पार्क निर्माण गरिएको हो ।
तर पार्क निर्माण पश्चात् नगरपालिकाले सञ्चालनका लागि बोलपत्र आह्वान मार्फत ठेक्का लगाएको छ । पटक पटक बोलपत्र आह्वान पश्चात् गत वर्षबाट ठेक्का लागेको तीनलाल पार्क अहिले मन्थली पार्क इन प्राइभेट लिमिटेड नामबाट सञ्चालनमा छ ।
रामेछापको ऐतिहासिक, गौरव बोकेको तीनलाल पार्कलाई व्यवसायीले मनलाग्दी नाम नै परिवर्तन गरी सञ्चालन गर्दा पनि मन्थली नगरपालिका लगायत जिल्लाका सरोकारवाला निकायको ध्यान नगएको भन्दै गुनासो आउन थालेको छ । सहिदहरू कृष्णलाल अधिकारी, गङ्गालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिक रहेको पार्कको नाम नै अर्को बनाएर यो ठाउँको अस्तित्व नै धरापमा पार्ने काम भएको नागरिक समाजका अगुवाहरूको गुनासो छ ।
यसबारेमा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत र प्रवक्ता गोपाल श्रेष्ठले सम्झौता हेरेर नगरपालिकाले कदम चाल्ने बताउनुभयो । सोमबार मन्थली नगरपालिकाको १६ औँ नगर सभाको निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँहरूले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा सहभागी पत्रकारहरूले यस बारेमा कुरा उठाएपछि नगर प्रवक्ता श्रेष्ठले तीनलाल पर्यटकीय पार्कलाई मन्थली पार्क इन प्राइभेट लिमिटेड बनाइएको बारे नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
उपप्रमुख ईश्वरी बस्नेतले मन्थली नगरपालिका सहित जिल्लाको ऐतिहासिक ठाउँको नाम नै परिवर्तन गर्ने जस्ता काम गर्न नपाइने बताउनुभयो । यसका बारेमा पार्क ठेक्कामा लगाउँदा भएको सम्झौता हेरेर नगरपालिका अगाडि बढ्ने उहाँको भनाइ छ ।
मन्थली नगरपालिका र सङ्घीय सरकारको ६ करोड ८६ लाख २१ हजार रुपैयाँ संयुक्त लगानीमा २०८० असारमा यो पार्क निर्माण सम्पन्न भएको हो । कूल १७ रोपनी जमिनमा फैलिएको सो पार्कमा दुई तले प्रशासनिक भवन, ४०८ जना क्षमताको सभा हल, महिला, पुरुष बच्चा सहितको ७५ देखि १०० जना क्षमताको तीन वटा पौडी पोखरी, चेन्जिङ रुम तथा स्नान कक्ष रहेका छन् । त्यस्तै यो पार्कमा चमेना गृह, टिकट घर तथा शौचालय र बगैँचा पनि रहेको छ ।