रामेछाप । रामेछाप नगरपालिका वडा नं.३ का वडा सदस्य मनोज खड्काले कामै नगरी नगरपालिकाबाट भुक्तानी लिएको पाइएको छ ।
कानुनतः झूटा प्रमाण तथा किर्ते गर्न नहुने व्यवस्था छ ।
मुलुकी अपराध संहिता ऐन, २०७४ दफा ९१ (१) मा कसैले झूटो प्रमाणलाई प्रमाणको रूपमा प्रयोग गरेमा दुई वर्षसम्म कैद र बिस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । सोही ऐनको दफा २७६ उपदफा २ (१) मा आफूलाई कुनै लाभ पु¥याउने नियतले किर्ते गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवानासमेत हुने व्यवस्था व्यवस्था छ ।
तर विद्यमान ऐन, कानुनलाई धज्जी उडाउँदै वडा सदस्य खड्काले भने कामै नगरी नक्कली बिल पेस गरेर नगरपालिकाबाट रकम भुक्तानी लिएका हुन् । खड्का गत स्थानीय तह निर्वाचन २०७९ मा नेपाली काँग्रेसबाट निर्वाचित वडा सदस्य हुन् ।
सामान्यतः निर्वाचित वडा सदस्यको भूमिका आफ्नो वडाको सामाजिक न्याय, सुशासन, विकास र समृद्धिको लागि आवाज उठाउने, निर्णय गर्ने गराउने हो । तर वडा सदस्य खड्काले भने आफ्नो पदीय जिम्मेवारीलाई समेत ख्याल नगरी आर्थिक वर्ष २०७९।०८० मा सामान नै खरिद नगरी सामान खरिद गरेको भनेर नक्कली बिल पेस गरी किर्ते गरेर ४० हजार रुपैयाँ भुक्तानी लिएका छन् ।
वडा सदस्य खड्काले आर्थिक वर्ष २०७९।०८० मा कुर्सी खरिद गर्न भनेर कर कट्टा गरी ३९ हजार रुपैयाँ नगद भुक्तानी लिएका रामेछाप नगरपालिकाका सूचना अधिकारी होमबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो,‘मनोज खड्का वडा सदस्य हुन् कि के हुन्, उनले आर्थिक वर्ष २०७९।०८० मा कुर्सी खरिद गर्न, कर काटेर ३९ हजार रुपैयाँ बुझेका छन् ।’
चुनाव खर्च तिर्ने भनेर वडा सदस्य खड्काले कुर्सी ल्याएनन्ः श्रेष्ठ
नक्कली बिल पेस गरेर किर्ते गरी भुक्तानी लिएका वडा सदस्य खड्काले कुर्सी खरिद नगरेपछि आफूले कुर्सी खरिद गर्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरी खरिद नगरेको स्थानीय बलबहादुर श्रेष्ठले बताउनुभयो । कुर्सी खरिदको लागि आएको पैसाले कुर्सी खरिद नगरी चुनाव खर्च तिर्ने भनेर वडा सदस्य खड्काले कुर्सी नल्याएपछि आफूले सो कुरा वडा अध्यक्ष र नगरपालिका प्रमुखलाई पनि जानकारी गराएको श्रेष्ठले बताउनुभयो । तर आफ्नो कुराको कुनै सुनुवाइ नभएको उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो,‘त्यो नगरपालिकाबाट हाम्रो जुन ४० हजार रुपैयाँ परेको थियो, सामान किन्न भनेर दिनु भएको थियो, अनि त्यो पैसाचाहिँ मनोज खड्काले एक वर्ष चलाउनुभयो, मनोजले एक वर्ष चलाएर जेठको पहिलो हप्तामा चाहिँ मैले दीपक श्रेष्ठको खातामा पैसा हाल्दिएको थाहा पाएँ । त्यो कुरा मैले थाहा पाएँपछि कुरा गर्दा यो सामानको पैसा कटाउँछु नगरपालिकाबाट आओस् कि जहाँसुकैबाट आओस् दिँदा नि दिन्न भनेर दीपक श्रेष्ठले जबरजस्ती गरेको हो । चुनावी खर्चमा चाहिँ पसलमा सामान किनेर खाइदिएको रछ मनोज खड्काले अनि त्यो चुनावी खर्चको पैसा नआउन्जेल यो पैसा दिन्न भनेर दीपक श्रेष्ठले मसँग झगडा ग¥यो ।’
त्यसपछि वडा अध्यक्षबाट आफ्नो कुराको सुनुवाइ नभएपछि पत्रकारलाई जानकारी गराएको र त्यसपछि २०८१ पुस १९ गते शुक्रवार वडा सदस्य मनोज खड्काले कुर्सी पठाएको स्थानीय बलबहादुर श्रेष्ठले बताउनुभयो ।
३३ हजार रुपैयाँको ५५ वटा कुर्सी र बिल काठमाडौँबाट साँघुकार आउने गाडीमा वडा सदस्य खड्काले पठाएपछि आफूले बुझेर दीपक श्रेष्ठको घरमा पठाएको उहाँले बताउनुभयो । ‘वडामा धेरैचोटी गएँ म, तीन÷चार चोटि गएँ अध्यक्षलाई भने, अनि अध्यक्षबाट पनि केही तार लागेन । वडा अध्यक्षसँग मौखिक रूपमा तीन÷चार चोटि कुरो गर्दा खेरी हुन्छ, हुन्छ भने । मेरो चुनावमा भएको खर्च मैले तिरिसकेको छु, यो त कान्छारामको पालाको हो, कहाँ म तिर्छु भनेर अध्यक्षले भनेको छ, उहाँले भन्नुभयो, ‘वडा सदस्य मनोज खड्काले २०८१ साल पुस १९ गते पठाएको हो । तपाईँले त्यहाँबाट फोन गर्दिनु भो, फोन गरेपछि उसले सामान किनेर हालिदियो ।’
यसै गरी रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारस्थित थाक्लेका दीपक श्रेष्ठले बलबहादुर श्रेष्ठ र आफूसँगै गएर कुर्सी लिएर आएको बताउनुभयो । तीन÷चार दिनअघि कुर्सी आएको उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘कुर्सी खै काठमाडौँबाट कल्ले हाल्दिएको हो थाहा छैन, लिनचाहिँ तपाइलाई सूचना दिने मान्छ र म गएको हो ।’
वडा अध्यक्षले चुनाव लड्दा खेरी दिएको पैसा र नगरबाट आएको पैसाले एकैचोटी खरिद गर्ने भन्दा ढिला भयोः वडा सदस्य
भुक्तानी लिएको करिब तीन वर्षपछि कुर्सी खरिद गरेका वडा सदस्य मनोज खड्काले भुक्तानी लिएको दुई÷तीन महिनापछि कुर्सी खरिद गरेको भनेर झूटो बोल्दै आफ्नो कमजोरी ढाकछोप गरेका छन् । वडा अध्यक्षले चुनाव लड्दा खेरी व्यक्तिगत रूपमा दिएको पैसा र नगरबाट आएको पैसाले एकैचोटी खरिद गर्ने भनेर बस्दा कुर्सी खरिदमा ढिलाइ भएको उहाँको भनाई छ ।
उनले भने,‘तत्काल चाहिँ त्यहाँ वडा अध्यक्षले पहिला चुनाव लड्दा खेरी अलिकति व्यक्तिगत पैसा दिनुभाथ्यो । त्यो पैसा पनि मिसाएर एकैचोटी भाँडा लाने, भाडा सस्तो पर्छ भन्ने खालको कुरा गर्नुभाथ्यो र मैले उहाँहरूलाई पैसा दिएको थिए । पैसा दिएपछि उहाँहरूको के..के.. चुनावी कुरा विवाद आएपछि, मेरो नाम मुछियो । त्यसपछि मैले किनेर पठाइदिएको हो, ढिला भएको हो ।’
तर कुर्सी खरिदको बिलअनुसार ३९ हजार रुपैयाँको खरिद हुनुपर्नेमा ३३ हजार रुपैयाँको मात्रै कुर्सी खरिद भएको देखिएको छ । खड्काले कुर्सीको साथमा पठाएको बिलअनुसार ‘साँघुकार खड्का कन्स्ट्रक्सन अफ सप्लायर प्राइभेट लिमिटेडको नाममा कुर्सी खरिद भएको देखिन्छ । नगरबाट भुक्तानी भएको पैसाले खरिद भयो वा उनको व्यक्तिगत पैसाले ? भन्ने कुराको भने अझैँ यकिन भएको छैन ।
यता रामेछाप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँ भने सामान खरिद नगरी भुक्तानी लिन नमिल्ने बताउनुभयो । यस विषयमा आफूलाई थाहा नभएकोले थप सम्बन्धित पक्षसँग बुझेर मात्रै भन्न सक्ने उहाँको भनाई छ ।

