काठमाडौँ । नेकपा एमाले वाग्मती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले भोली काठमाडौँमा गर्न लागिएको जागरण सभा विभाजनकारी शक्तिका विरुद्ध भएको बताउनुभएको छ ।
नेकपा एमाले काठमाडौँ, ललितपुर र भक्तपुरले संयुक्त रूपमा शुक्रवार काठमाडौँमा आयोजना गर्न लागेको कार्यक्रम विखण्डनकारी शक्तिका विरुद्ध उपत्यकाको जनप्रदर्शन भएको ढुङ्गेलले बताउनुभयो । अराजकतावादीहरूको विरुद्ध नेकपा एमालेले आफ्नो असली रुप भोलिको कार्यक्रममा देखाउने उहाँले स्पष्ट पार्नुभयो ।
नेकपा एमाले कमजोर भयो, पुराना पार्टीहरू सकिए भन्नेहरूले भोलिको कार्यक्रममा एमालेको शक्ति देख्ने उहाँले दाबी गर्नुभयो ।
ढुङ्गेलले अहिले समाजको हरेक क्षेत्रमा विभाजनकारी अराजक शक्तिले टाउको उठाउने प्रयास गरेका बताउनुभयो । ‘अराजकतावादीहरूले संस्कृतिमा विभाजन, पार्टीमा विभाजन, समाजमा विभाजन र व्यवस्थामा विभाजन गरेर भाँडभैलो गर्ने काम भएको छ, यसलाई हामी भोलिको कार्यक्रमबाट चिर्नेछौँ ’, उहाँले भन्नुभयो ।
भोलिको कार्यक्रममा नेकपा एमाले, वर्तमान सरकार र प्रधानमन्त्री केपी ओली विरुद्ध गरिएका कु प्रचारको भ्रम चिरिने पनि उहाँले बताउनुभयो । जनतालाई सही सूचना दिनु राजनीतिक दलको कर्तव्य भएकोले भोलिको कार्यक्रम मार्फत जनतालाई सूचना प्रवाह गरिने ढुङ्गेलले प्रस्ट पार्नुभयो ।