रामेछाप । मन्थली–लुक्ला उडान फेरी रोकिएको छ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सोमबारदेखि रोकिएको मन्थली–लुक्ला उडान बुधवार बिहान ९ बजेदेखि सञ्चालनमा आएको थियो । तर बुधवार केही घण्टा मात्रै उडान भएपछि फेरी खुम्बु क्षेत्रको मौसम खराब हुँदा उडान रोकिएको नागरिक उड्डयन प्राधिकरण मन्थलीका उप–प्रबन्धक हिरण्य साहले बताउनुभयो । उहाँले भन्नुभयो “आज बिहान ९ बजेदेखि केही घण्टा उडान भए । आज १६ वटा उडान भएका छन् । ९ बजेबाट उडान सुरु भए पनि १२ बजे भन्दा अगाडी नै मौसम बिग्रिएपछि बन्द भयो ।”
उहाँका अनुसार आज बुधवार उडान सुरु भएको एक घण्टामै १० वटा उडान भएका थिए । नागरिक उड्डयन प्राधिकरण मन्थलीका अनुसार सोमवारदेखि उडान बन्द हुँदा मन्थलीमा रोकिएका एक हजार २०० भन्दा बढी पर्यटक मध्ये बुधवार भएका १६ वटा उडान मार्फत २३० जना भन्दा बढी लुक्ला पुगेका छन् ।
सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई रामेछापको मन्थली विमान स्थलबाट लुक्ला पु¥याउने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थल मार्फतबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरण मन्थलीका अनुसार मन्थली विमान स्थललाई प्रयोग गरी सीता, तारा र समिट एयरका जहाजहरूले सगरमाथा क्षेत्रको भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई लुक्ला पु¥याउने र ल्याउने गरिरहेका छन् । एउटा उडान मार्फत १४ देखि १८ जनासम्म पर्यटक मन्थली विमानस्थलबाट लुक्ला पुग्ने गरेका छन् । बिहानदेखि बेलुकासम्म मौसम खुलेको समयमा एक दिनमा ६० वटा सम्म मन्थली– लुक्ला उडान हुने गरेको छ ।
फेरी रोकियो मन्थली–लुक्ला उडान
- प्रकाशित मिति: बुधबार, असोज ३० २०८१
- तामाकोशी