दसैँ गाउँमै रमाइलो

  • प्रकाशित मिति: बुधबार, असोज २३ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापबाट रोजगारी, अध्ययन लगायतका सिलसिलामा सहर पसेका मानिसहरू दसैँ मनाउन गाउँ फर्कने क्रम जारी छ । राजधानी काठमाडौँ, हेटौडा, लगायतका ठाउँहरुबाटमा दसैँ मनाउन गाउँ फर्कनेको लर्को छ ।
गत असोज १० गतेदेखि १२ गतेसम्म तीन दिन परेको अविरल वर्षासँगै आएका बाढीका कारण रामेछापबाट छोटो दुरीमा राजधानी काठमाडौँ आउँ जाऊ हुने बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
बिपी राजमार्ग अवरुद्ध बनेपछि अहिले सिन्धुपाल्चोकको खाडिचौर हुँदै दोलखाको चरिकोट–मन्थली पुष्पलाल लोक मार्ग मार्फत काठमाडौँबाट मानिसहरू आइरहेका छन् । यो बाटो भएर मन्थली आउन रामेछापवासीलाई बिपी राजमार्ग भन्दा ७ घण्टा बढी समय लाग्छ ।
पुष्पलाल लोक मार्ग पनि ठाउँ ठाउँमा निकै अप्ठेरो छ । यही अप्ठेरो बाटोबाट जोखिमपूर्ण यात्रा गरी जिल्लामा अहिले दैनिक हजारौँको सङ्ख्यामा दसैँ मनाउन मानिसहरू भित्रिरहेका छन् । बषौँपछि आफन्तसँग भेटघाट गरी रमाइलोसँग गाउँमा दसैँ मनाउने खुसीले अहिलेको कष्टपूर्ण सडक यात्राको पीडा हराएको इलामबाट दसैँ मनाउन गाउँ हिँड्नु भएकी ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–१० की लक्ष्मी बुढाथोकी बताउनुहुन्छ । उहाँले भन्नुभयो“दसैँ गाउँमा नै रमाइलो हुन्छ । सहरमा त कोठामा बस्यो । कसैले कसैलाई चिन्दैनन् । गाउँमा घर वरिपरिका छरछिमेक, टिका लगाउन गाउँ भरी हिँडिन्छ । यी सबै कुरालाई सम्झिँदा यात्राका क्रममा भएका दुःख बिर्साउँछ ।”
चिनजान भेटघाट जस्ता सबै कुराले दसैँ गाउँमा नै खास हुने भएकाले इलामदेखि तीन दिनको यात्रा गरेर आफू गाउँ हिँडेको उहाँले बताउनुभयो । “अहिले भेटेका मान्छेहरू अर्को वर्ष हुन्छन्, हुँदैन थाहा छैन । केही वर्ष अगाडी भेटेका गाउँका मन्छेहरु अहिले हुनुहुन्न । यस्तै कारणले पनि दसैँ गाउँमा नै विशेष हुन्छ ।” रामेछापको सुनपाति गाउँपालिका–५ का दीपक थापा पनि लामो समयपछि यो वर्ष सबै परिवार आफ्ना आफन्तसँग दसैँ मनाउन केही दिन अगाडि मात्रै भारतबाट आउनुभएको छ । बाढी पहिरोले सडक अवरुद्ध भएपछि पाँच दिन लगाएर केही दिनअघि मात्रै मन्थली आइपुगेको उहाँले बताउनुभयो ।
गाउँमा सबै परिवारसँग रमाइलो गरी दसैँ मनाउन गाउँ हिँडेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “दसैँ सहरमा भन्दा गाउँमा नै रमाइलो हुन्छ । सबै परिवार र गाउँका अन्य ठुलावडाहरुसँको भेटघाटले पनि दसैलाई खास बनाउँछ । विपत्तिको बेला पनि दसैमा खुसी साटा साट गर्ने एउटा अवसर मिलेको छ ।” तीन दिनको अविरल वर्षाले क्षति गरेका कारण जिल्लाका मुख्य सडक सहित अन्य सडकको यात्रा सहज छैन । जसका कारण सडक यात्रा अस्तव्यस्त नै छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मङ्गलवार एकै दिन जिल्लाको खाँडादेवी गाउँपालिकामा दुई वटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको छ भने दुई दर्जन बढी मानिस घाइते भएका छन् ।