मन्थली–चरिकोट–काठमाडौँ सडक खुलाउने सहमति

  • प्रकाशित मिति: मंगलबार, असोज १५ २०८१
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम मन्थली–चरिकोट–काठमाडौँ सडक भोलि (बुधवार) बाट सञ्चालनमा आउने भएको छ । गत बिहीबार, शुक्रवार र शनिवार परेको अविरल वर्षासँगै तामाकोशीमा आएको बाढीले यो सडक खण्ड अन्तरगत दोलखाको किर्नेमा अन्दाजी ४०० मिटर सडक पूर्ण रूपमा कटान गरेको छ । जसका कारण यो सडक पूर्ण रूपमा बन्द भएको छ ।
मङ्गलवार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समेतको उपस्थितिमा बसेको रामेछाप र दोलखा जिल्लाका सरोकारवालाबिचको बैठकमा हाइड्रोपावर क्षेत्रबाट वैकल्पिक रूपमा बाइपास सडक खुलाउने सहमति भएको रामेछापको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार मङ्गलवार सरोकारवालाबिच भएको सहमति पूर्णरुपमा कार्यान्वयन भएमा भोलि (बुधवार) बेलुका वा पर्सी (बिहीबार) बिहानसम्ममा मन्थली–चरिकोट–काठमाडौँ बाइपास सडक सञ्चालनमा आउने छ । गत बिहीबार, शुक्रवार र शनिवार परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण सबै क्षेत्रका सडक क्षति भएपछि रामेछापको राजधानी काठमाडौँसँग सम्बन्ध टुटेको छ । राजधानी काठमाडौँबाट रामेछाप आवत जावत हुने महत्त्वपूर्ण दुई वटा पक्की पुल सुनकोशीमा आएको बाढीले बगाएको छ ।