रामेछाप नगरपालिका–९ टाहारगाउँका आगोलागि पीडितले तत्काल प्रति परिवार ४५ हजार रुपैयाँ पाउने

  • प्रकाशित मिति: शनिबार, चैत्र ३ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापमा आगोलागिका घटना बढ्न थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी विभिन्न निर्णयहरू गरेको छ । रामेछापकी प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष अनिता निरौलाको अध्यक्षतामा शनिवार बैठक बसेको हो ।
बैठकले रामेछापको रामेछाप नगरपालिका–९ ल्याङ्गल्याङ्गको टाहारगाउँमा बिहीबार भएको आगोलागि पीडित १२ घर परिवारलाई राहत प्रदान गर्ने निर्णय गरेको छ । आगोलागि प्रभावित एवं विस्थापित घरपरिवारको तत्कालको अस्थायी आवास एवं राहत व्यवस्थापनको लागि स्थानीय आवश्यकतालाई ध्यानमा राखी रामेछाप नगरपालिकासँग समन्वय गरी एक द्वार प्रणालीबाट गर्ने निर्णय गरेको छ ।
बैठकले नेपाल सरकार, बागमती प्रदेश सरकार र रामेछाप नगरपालिकाबाट प्रचलित कानुन, कार्यविधि, मापदण्ड बमोजिम उपलब्ध गराउने राहत तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । यो निर्णयसँगै अब टाहारगाउँका आगोलागि पीडितले प्रति घर परिवार राहत स्वरूप सङ्घीय सरकारबाट २० हजार, बागमती प्रदेश सरकारबाट १० हजार र रामेछाप नगरपालिकाबाट १५ हजार रुपैयाँ गरी ४५ हजार रुपैयाँ नगद रकम पाउने भएका छन् ।
बैठकले आगोलागिबाट प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान सम्बन्धी कार्यविधि २०७८, बमोजिम अर्को बस्ने घर नभएका र आगोलागिबाट घर पूर्ण क्षति भएका परिवारको सम्बन्धमा आवास पुनर्निर्माण अनुदानका लागि तोकिएको प्रक्रिया रामेछाप नगरपालिकाले यथाशीघ्र सुरु गर्ने निर्णय गरेको छ ।
विपद्जन्य घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्दै विपद्का घटनाको पूर्व तयारी, उद्धार एवं राहत र पुनर्लाभ कार्यको लागि सबै निकायबाट आवश्यक तयारी लगायत आ–आफ्नो क्षेत्रबाट क्रियाशील भई समन्वयात्मक रूपमा प्रभावकारी कार्य गर्ने निर्णय गरेको छ । त्यसै गरी यस अघि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट निर्णय भई सरोकारवाला निकायहरूको सहभागितामा डिभिजन वन कार्यालय, रामेछाप मार्फत तयार बन डढेलो रोकथाम र नियन्त्रण कार्य योजना, २०८०÷०८१ कार्य योजना कार्यान्वयन गर्ने र सामुदायिक वनहरूमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गर्ने व्यक्ति, समूह को पहिचान भएमा जुनसुकै व्यक्तिहरूले पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराउने पनि निर्णय गरेको छ ।
त्यस्तै आगोलागिका घटनाहरू दिनानुदिन बढ्न सक्ने हुँदा सम्पूर्ण सुरक्षा निकायलाई एक आपसमा समन्वय गरी तयारी अवस्थामा रहने र आवश्यकता अनुसार पहिचान गर्ने, भविष्यमा हुनसक्ने आगोलागिका घटनाप्रति सचेत हुँदै सुरक्षित रहन र जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरी जिल्ला स्थित पत्रकार महासंघद्धारा स्थानीय सञ्चार माध्यमहरूबाट सूचनाहरू प्रचार– प्रसार गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा मन्थली नगरपालिकाको तर्फबाट आगोलागि पीडित परिवारलाई तत्काल प्रति परिवार दुई÷दुई बन्डल जस्ता सहयोग गर्ने मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो । रामेछाप नगरपालिकाले पीडित घर परिवारलाई तत्काल प्रति घर परिवार १५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने निर्णय भएको रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले बताउनुभयो । रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापाले आगोलागिबाट पीडित १२ घर परिवारलाई एक÷एक वटा ५०० लिटरको खानेपानी हिलटेक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।