वाग्मती प्रदेशले कृषिमा आधारित उद्यमशीलता विकासमा जोड दिएको छ : मुख्यमन्त्री जम्कट्टेल

  • प्रकाशित मिति: बिहिबार, पुष २६ २०८०
  • तामाकोशी

रामेछाप । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले मूलतः कृषिमा आधारित उद्यमशीलता विकासमा जोड दिएको बताउनुभएको छ । रामेछाप सदरमुकाम मन्थलीमा बिहीबारदेखि सुरु भएको ११ दिने वृहत् रामेछाप महोत्सवको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताउनुभएको हो ।
कृषिमा आधारित उद्यमशीलता विकासकै लागि प्रदेश सकारले प्रदेशभित्रका ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘‘कृषिलाई उद्यम नमान्ने हाम्रो मानसिकता छ । अब यसलाई तोडेर जानुपर्छ भन्ने मान्यताका साथ प्रदेश सरकार अगाडि बढेको छ । प्रदेश सरकारले कृषिमा आधारित उद्यमशीलता विकासका लागि ८५ वटा पालिकालाई कृषि उत्पादनको पकेट क्षेत्र घोषणा गर्दै छ।’’
अब प्रदेशले कृषि उत्पादनको पकेट क्षेत्र घोषणा गरेको पालिकाबाट ठुलो परिणाम कृषि तथा पशु उत्पादन गर्ने योजना रहेको उहाँले बताउनुभयो । कृषि उत्पादनको पकेट क्षेत्र घोषणा पश्चता ती पालिकाहरूमा आवश्यक लगानीका लागि विभिन्न बैङ्कहरू समेत तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । ‘कृषि उत्पादनको पकेट क्षेत्र घोषणा हुने पालिकाहरूमा लगानीका लागि सहुलियतपूर्ण कर्जा दिन विभिन्न बैङ्कहरू तयारी अवस्थामा छन् । यसका बारेमा बैङ्कहरूसँग आवश्यक विषयमा छलफल भइसकेको छ, अब प्रदेश सरकार र स्थानीय सरकारले मिलेर कृषि उत्पादन बढाउन तिर लाग्नुपर्छ’, उहाँले भन्नुभयो ।
विगतमा कृषि क्षेत्रमा लगानी भएका अनुदानहरू व्यक्ति केन्द्रित हुँदा परिणाम सोचेअनुसार नआएको उहाँको भनाइ छ । प्रदेश सरकारले अहिले कृषि क्षेत्रको विकासका लागि समुदायमा आधारित मोडेलमा काम गर्न लागेको मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ ।
उहाँले प्रदेश सरकारले अब धेरै सडकहरूको कालोपत्रे गर्ने योजना बनाएको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘‘प्रदेश सरकारले अब चाँडै प्रदेशभरका ५५० वटा भन्दा बढी सडकहरूलाई प्रादेशिक सडक नामा करण गर्दै छ । यसरी प्रदेश सडक नामा करण भएका सडकहरू आगामी तीन वर्षभित्र कालोपत्रे हुन्छ । यसका लागि प्रदेशले आवश्यक तयारी गरिरहेको छ ।’’ उहाँले आफ्नो मुलुक विकासका लागि कुनै पनि आग्रह पूर्वाग्रह नराखी एकता साथ लाग्न पनि सबैलाई आग्रह गर्नुभयो ।
रामेछाप जुनार–सुन्तला र किवी उत्पादनमा ठुलो सम्भावना भएको जिल्ला भएकाले जुनार–सुन्तला र किवीबाट कृषि क्षेत्रको विकास गर्न सम्भावनाहरूको खोजी गर्न आवश्यक रहेको उहाँको भनाइ छ । रामेछापका जुनार–सुन्तला र किवी उत्पादन भइरहेको र यी चिजहरूको उत्पादन हुने सम्भावना भएका पालिकाहरूलाई जुनार–सुन्तला र किवी उत्पादन पकेट क्षेत्रको रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।