११ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि मन्थली नगरपालिकालाई

  • प्रकाशित मिति: मंगलबार, पुष २४ २०८०
  • तामाकोशी

रामेछाप । ११ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितको छ । प्रतियोगितामा मन्थली नगरपालिकाले २५ स्वर्ण पदक सहित उपाधि जितेको छ । मङ्गलवार उमाकुण्ड गाउँपालिकाको प्रीतिमा सम्पन्न भएको प्रतियोगितामा मन्थली नगरपालिकाले २५ रजत र ३१ कांस्य पदक सहित कुल ८१ पदक जितेको छ ।

प्रतियोगितामा सहआयोजक उमाकुण्ड गाउँपालिका दोस्रो भएको छ । उमाकुण्ड सात रजत र २६ कांस्य सहित ४९ पदक जित्न सफल भएको छ । प्रतियोगितामा १० स्वर्ण, १० रजत र २२ कांस्य सहित ४२ पदक जितेर रामेछाप नगरपालिका तेस्रो भएको छ ।
प्रतियोगितामा लिखु तामाकोसी गाउँपालिकाले चार स्वर्ण, १४ रजत र नौ कांस्य सहित २७ पदक , दोरम्बा शैलुङ गाउँपालिकाले चार स्वर्ण, पाँच रजत र ६ कांस्य गरी १५ वटा पदक जितेको छ । त्यस्तै खाँडादेवी गाउँपालिकाले तीन स्वर्ण, तीन रजत र दुई कांस्य गरी आठ वटा पदक , गोकुलगंगा गाउँपालिका दुई स्वर्ण, चार रजत र ६ कांस्य गरी १२ पदक र सुनापति गाउँपालिकाले भने एक स्वर्ण पदक जितेको छ ।
प्रतियोगितामा स्वर्ण, रजत र कांस्य पदक जित्ने प्रत्येक खेलाडी र प्रशिक्षकलाई जनही ५ हजार, ३ हजार र २ हजारका दरले नगद पुरस्कार दिने गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनुभयो । विजेता खेलाडीलाई वाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, प्रतिनिधि सभाका पूर्व सदस्य देवशंकर पौडेल, वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठ, उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार लगायतले सिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । जिल्ला खेलकुद विकास समितिको आयोजना र उमाकुण्ड गाउँपालिकाको सह आयोजनामा ११ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता भएको हो ।