रामेछाप । जेठ १ गते,
हिमाली जिल्ला रामेछापको प्रहरी प्रमुखमा प्रहरी उपरिक्षक र प्रमुख जिल्ला अधिकारीमा सहसचिव आउने भएको छ । सरकारले १९ वटा पहाडी जिल्लाको सिडिओमा सहसचिव र प्रहरी प्रमुखमा एसपी खटाउने निर्णय गरेसंगै रामेछापको प्रहरी प्रमुखमा एसपी र सिडियोमा सहसचिव आउने भएको हो। रामेछापमा अहिले प्रमुख जिल्ला अधिकारीमा उपसचिव र प्रहरी प्रमुखमा प्रहरी नायब उपरीक्षक (डिएसपी) को दरबन्दी छ । 
धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नति गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । विगतमा तीनवटा निर्वाचन क्षेत्र भएका जिल्लामा मात्र सहसचिव र एसपी खटाउने निर्णय भएको थियो । देशभरमा हाल ४२ जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सहसचिव र ३५ जिल्लाको प्रमुख जिल्ला अधिकारीमा उपसचिवको दरबन्दी छ । त्यस्तै, दुई जिल्लाको प्रहरी प्रमुखमा एसएसपी, ४० जिल्लामा एसपी र ३५ जिल्लामा डिएसपीको दरबन्दी छ ।
अब सरकारले ६१ जिल्लाको प्रमुख जिल्लाअधिकारीमा सहसचिव र ५९ जिल्लाको प्रहरी प्रमुखमा एसपीलाई खटाउने तयारी गरेको छ । रामेछाप, ओखलढुंगा, दोलखा, पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुराको प्रमुख जिल्ला अधिकारीमा सहसचिव र प्रहरी प्रमुखमा प्रहरी उपरिक्षक खटाउन लागिएको हो । १९ सहसचिवको दरबन्दी स्वीकृत भएपछि प्रहरीबाट एसपीलाई खटाउने गृहको तयारी छ ।
रामेछापको सिडियोमा सहसचिव र प्रहरी प्रमुखमा एसपी आउँने
- प्रकाशित मिति: बुधबार, जेष्ठ १ २०७६
- तामाकोशी