रामेछाप । बैशाख २२ गते,नवराज पथिक,
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा रहेको खाँडादेवी मन्दिरमा आन्तरिक पर्ययक तथा दर्शनार्थिहरुको चाप बढ्न लागेको छ । मन्दिरको बारेमा प्रचार प्रशार बढेपछि पर्यटकहरु बढ्न लागेका हुन् । शक्तिपीठको रुपमा सदियौंदेखि भक्तजनहरुले मान्दै आएकी खाँडादेवीमा चैते दसैं र बडादसैंका बेला ठूलो मेला लाग्ने भए पति अहिले अन्य समयमा समेत दर्शनार्थिहरुको संख्या बढेको छ । दसैंका बेला ठूलो मात्रामा पञ्चवली दिइने खाँडादेवीमा वर्षैभरी रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा, दोलखा तथा तराईका विभिन्न जिल्ला र काठमाडौंबाट पनि भक्तजनहरु दर्शनका लागि आउन लागेका छन् । खाँडादेवी मन्दिरसम्म सडकको पहँुच पुगेपछि दर्शनार्थीहरु बढेका हुन् ।
खाँडादेवी विगतमा प्रचारबाट ओझल परेको शक्ति पीठ हो । खाँडादेवीसम्बन्धी स्थानीय भक्तजनमा धेरैखालका जनश्रुति र किम्वदन्तीहरु पाइन्छ । तर त्यस्ता जनश्रुति र किम्बदन्तिहरूभन्दा पनि शिवपुराणको हिमवत खण्डमा उल्लेख भएअनुसार रोशी खोला र सुनकोशी नदीको संगमस्थलमा रहेको कुशेश्वरमा देवीले शुम्भ निशुम्भ नामका राक्षसलाई बध गरी दुर्गा नदीमा खड्ग पखाली खाँडादेवी मन्दिर रहेको स्थानमा खड्ग गाडेर कालीञ्चोकमा अन्तरध्यान भएको उल्लेख छ । खाँडादेवी मन्दिरका पुजारी तामाङ जातिको हुनुले पनि खाँडादेवीलाई भिन्न र विशिष्ट पीठको रुपमा लिइन्छ । यहाँका पुजारी तामाङहरु हिन्दु धर्मनै मान्दछन् । विक्रम सम्वत् १५१५ माघ १५ गते मंगलबारका दिन खाँडादेवीको शीला उत्पत्ति भएको बताइन्छ । विसं १५७३ सालमा चढाइएको घण्ट अहिले पनि मन्दिरमा मन्दिरका पुजारी शेरबहादुर तामाङ बताउँछन् ।
नेपाल एकिकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढीपछि खाँडादेवीमा सहायक गढीको रुपमा किल्ला बनाएका थिए । अङ्ग्रेजसँगको लडाईँ जित्नको लागि पृथ्वीनारायणले खाँडादेवीसँग आशिर्वाद लिएको जनश्रुती पाइन्छ । पृथ्वीनारायण शाहले त्यही बेलादेखि कमलामाईलाई परेवा, मंगलादेवीलाई भाले, भैरवदेवीलाई राँगा र खाँडादेवीलाई हाँस र बोका बली दिन भनी आदेश दिएका थिए भन्ने जनश्रुती छ ।
काठमाडौंबाट करिव १०० किलोमिटरको यात्रापछि खाँडादेवी पुग्न सकिन्छ । धुलिखेलबाट ८० किलोमिटरको यात्रा पूरा गरेपछि प्रसिद्ध कुशेश्वर महादेवको दर्शन गर्न सकिन्छ । त्यसपछि सित्खाबाट सुनकोशी नदी तरेर कच्ची सडकको यात्राहुँदै खाँडादेवी पुग्न सकिन्छ । रामेछापको सदरमुकाम मन्थलीबाट २० किलोमिटरको यात्रापछि पनि खाँडादेवी पुग्न सकिन्छ ।
प्रदेश नं ३ सरकारको लगानीमा खाँडादेवी मन्दिरसम्म केवुलकार निर्माणको योजना पनि अघि सारिएको छ । प्रदेश सरकारले केवुलकार निर्माणको सम्भाव्यता अध्यनको लागि बजेट समेत विनियोजन गरेको छ । प्रदेश सरकारले निजिक्षेत्रसंगको सहकार्यमा सित्खादेखि खाँडादेवीसम्म केवुलकार निर्माणको काम गर्ने प्रदेश नं ३ का आर्थिम मामिला तथा योजना मन्त्रै कैलाश ढुँगेले बताउँछन् ।
खाँडादेवीमा केवुलकार निर्माण तथा पर्यटन प्रवर्धको लागि खाँडादेवी गाउँपालिकाले पनि सरोकारवालासँग छलफल तथा अघि बढाएको सो गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए । तामाङका अनुसार गाउँपालिकाले खाँडादेवीको प्रचारको लागि खाँडादेवी महोत्सव आयोजना गर्ने योजना समेत बनाएको छ ।
अहिले पनि खाँडादेवी मन्दिरको विकास र संरक्षणको लागि पुरातत्व विभागले खाँडादेवी विकास कोषसँग मिलेर काम गरि रहेको छ । मन्दिरको पुरानो भवनलाई हटाएर अत्याधुनिक भवन निर्माण तथा सिँढि हाल्ने लगायतका काम भएको कोषका अध्यक्ष शेरबहादुर तामाङले बताए । त्यसैगरी मन्दिर परिषरमा रहेको सत्तलको समेत निर्माण भई रहेको छ ।
धार्मीक तथा ऐतिहाँसिक खाँडादेवी मन्दिरमा आन्तरिक पर्यटक बढ्यो
- प्रकाशित मिति: आइतबार, बैशाख २२ २०७६
- तामाकोशी