सिन्धुली । वैशाख २१ गते,
सिन्धुलीका जिल्लाको तिनपाटन गाउँपालिकाले उपाध्यक्ष उद्यमशीलता कार्यक्रम मार्फत एक सय युवाहरुलाई रोजगारी दिने भएको छ । पालिकामा रहेका बेरोजगार महिला तथा पुरुषहरुलाई उद्यमशिल बनाई स्वरोजगार बनाउने उद्देश्यले उपाध्यक्ष उद्यमशीलता कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाकी उपाध्यक्ष पदममाया तामाङले बताइन् । चालु आर्थिक वर्ष २०७५र०७६ मा पालिकाले उपाध्यक्ष उद्यमशिलता कार्यक्रमका लागि ३५ लाख रुपैया बजेट छुट्याएको उपाध्यक्ष तामाङको भनाई छ । 
पालिकाको कुन–कुन वडामा के कस्तो व्यवसायको सम्भाव्यता छ त्यसबारे अध्ययन गरि सोही अनुसार ढाका बुनाई, टपरी बुनाई, सिस्नोको धुलो बनाउने र चाउमिन बनाउने तालिम दिने काम भइरहेको तामाङले बताइन् । गाउँपालिकाको १ र ५ नम्बर वडाका युवाहरुलाई लक्षित गरि बेलघारीमा टपरी बनाउने तालिम दिएको छ । त्यस्तै २ र ३ नम्बर वडाका युवाहरुलाई लक्षित गरि चाउमिन बनाउने तालिम दिएको छ । पालिकाको ४, ९, १० र ११ नम्बर वडाका युवाहरुलाई लाम्पन्टारमा ढाका बुनाइको तालिम दिइरहेको उपाध्यक्ष तामाङले बताइन् । उनका अनुसार यहि बैशाख १६ गतेबाट ३ वटै ठाउँमा तालिम सञ्चालन भइरहेको छ । त्यस्तै ६, ७ र ८ नम्बर वडाका युवाहरुलाई लक्षित गरि बाहुनतिल्पुङमा सिस्नोको धुलो बनाउने तालिम दिने तयारी रहेको छ ।
सिन्धुलीको तिनपाटन गाउँपालिकाले एक सय युवालाई रोजगारी दिने
- प्रकाशित मिति: शनिबार, बैशाख २१ २०७६
- तामाकोशी