विप्लब बन्दको पूर्वको सन्ध्यामा भेटियो राजधानीमा शंकास्पद वस्तु

  • प्रकाशित मिति: बुधबार, फाल्गुन २९ २०७५
  • तामाकोशी

२९ फागुन, काठमाडौं । काठमाडौंको अनामनगरमा शंकास्पद वस्तु भेटिएको छ । कालो झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो । महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रमुख नायब उपरीक्षक (डीएसपी) काजी आचार्यले शंकास्पद वस्तु भेटिएको पुष्टि गरे ।

‘अनामनगरबाट घट्टेकुलोतर्फ जाने बाटोमा शंकास्पद वस्तु भेटिएको सूचना आएको छ’, उनले अनलाइनखबरसँग भने, ‘हामीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेका छौं ।’



सेनाको टोली हाल घटनास्थलमा पुगिसकेको छैन । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको दिनको पूर्वसन्ध्यामा शंकास्पद वस्तु भेटिएको छ ।
यो पनि पढ्नुहोस
विप्लवको ‘बन्द’ सँग नडराउन प्रहरीको ढाडस
समूहले कपिलवस्तुमा विप्लवको गाउँमा प्रहरीले चलाएको सर्च अपरेशनका क्रममा खुट्टामा गोली हानेर कार्यकर्ता पक्राउ गरिएको विरुद्धमा बन्द आह्वान गरेको दाबी गरेको छ । प्रहरीको गोलीबाट घाइते दुर्गाबहादुर रोकाको घरबाट प्रहरीले दुईवटा एसएमजी हतियार, एउटा चाइनिज पेस्तोल र २०२ राउण्ड गोली बरामद गरेको थियो ।

समूहमाथि सरकारले प्रतिबन्ध लगाइसकेको छ ।

समूहले १० फागुनमा ललितपुरको नख्खुमा रहेको एनसेल प्रा.लि.को मुख्यालयमा एकजनाको मृत्यु र दुई जना घाइते हुने गरी शक्तिशाली विष्फोट गराएपछि प्रहरीलाई विप्लव समूहप्रति आक्रामक बन्न निर्देशन दिइएको थियो । २४ फागुनमा काठमाडौंको वसुन्धारामा रहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा चार जना घाइते हुने गरी विष्फोट गराएको थियो ।