नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई झट्का – गाउँपालिका अध्यक्षद्वारा नेकपा पार्टी परित्याग

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २७ २०७५
  • तामाकोशी

भैरहवा- रुपन्देहीकाे सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका छन्। रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पर्ने सम्मरीमाई गाउँपालिकाका अध्यक्ष शुक्लाले पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। पर्टीभित्र तानाशाही व्यवस्था लादिएको र चाप्लुसी गर्नेहरुलाई प्रश्रय दिइएकाले नेकपाभित्र बस्नुको औचित्य नरहेको उनले बताए।

स्थानीय तह निर्वाचनमा तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित शुक्ला प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अघि तत्कालीन नेकपा (एमाले)मा प्रवेश गरेका थिए। शुक्लासँगै पत्नी पल्लवी शुक्ला पनि एमालेमा प्रवेश गरी रुपन्देही क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रदेशसभा सदस्याकाे उम्मेदवार बनेकी थिइन्। तर, उनी पराजित भएकी थिइन्।



प्रदेश ५ सरकारले सञ्चालन गरेको ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ सम्मरीमाई गाउँपालिकामा लागू गर्दा आफ्नो सल्लाह नलिई भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई नेतृत्व दिएको, पालिकामा आफ्नो सल्लाह र जानकारी बिना पार्टी कमिटीहरु घोषणा गरिएको, मर्चवारको सडक निर्माणमा ध्यान नदिइएको, तरैनी नाका सुचारु गर्न कुनै पहल नगरेकाले मर्चवारवासीको सल्लाहमा नै आफूले पार्टी परित्याग गर्ने निर्णय लिएको उनले बताए। ‘म जनताबाट निर्वाचित भएको हुँ, पार्टीभन्दा जनता ठूला हुन्, जनताको आदेशअनुसार नै पार्टी छोडी स्वतन्त्र बस्ने निर्णय गरेकाे छु’, उनले भने।

प्रदेश सरकारले ग्रामीण क्षेत्रको विकास गर्ने उद्देश्यसहित अघिल्लो महिनाबाट ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ सञ्चालनमा ल्याएको छ। रुपन्देहीमा देवदह नगरपालिकासहित सम्मरीमाई, कोटहीमाई र मर्चवारी गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिएको छ। सम्मरीमाई अध्यक्ष शुक्ला र प्रदेश सरकारले छनोट गरेका संयोजकबीच आन्तरिक द्वन्द्व हुँदा कार्यक्रमको योजना अझै छनोट हुन सकेको छैन।

यसैलाई रिसइबी बनाएर अध्यक्ष शुक्लाले पार्टी परित्याग गरेको स्रोतले बतायो। तर, उनले भने आन्तरिक द्वन्द्व नभई छनाेट गरिएका संयोजक भ्रष्ट भएको दाबी गरे।

शुक्लाले आफूलाई पार्टीमा प्रवेश गराउँदा नै तरैनी नाका खोल्न सहजीकरण गर्ने पूर्व गृहमन्त्री बामदेव गौतम र पूर्व अर्थमन्त्री विष्णु पौडेलले आश्वासन दिए पनि हालसम्म नाका सञ्चालनमा ल्याउन कुनै पहल नगरेको दुखेसो गरे। मर्चवारको विकासका लागि सरकारले ध्यान नदिएको र मधेशी जनताले विकासको अनुभूति गर्न नपाएको उनकाे गुनासाे छ।

‘आफ्नो क्षेत्रका सम्पूर्ण जनताका साथ मैले नेकपा परित्याग गरेको छु’, उनले भने, ‘पार्टीमा बस्दा स्वतन्त्र रुपमा काम गर्न नसकिने र दबाबमा काम गर्नुपर्ने भएकाले जनताको मानसम्मानका लागि नेकपा परित्याग गरेको हुँ।’

उनले मर्चवारको विकासमा पार्टीले कुनै ध्यान नदिएको आरोप लगाए। अब स्वतन्त्र रुपमा राजनीति गर्ने र कुनै पार्टीमा प्रवेश नगर्ने उनले स्पष्ट पारे। ‘राजनीतिमा कुनै कुरा असम्भव भन्ने हुँदैन, भोलि के हुन्छ कसैलाई थाहा छैन, जनताले मलाई जुन पार्टीमा भन्नुहुन्छ, म त्यही पार्टीमा जान्छु, तर तत्काल स्वतन्त्र भएको छु’, उनले भने।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा भ्रष्टाचारमा संलग्न व्यक्तिलाई नराख्न आफूले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी, कृषि तथा सहकारीमन्त्री आरती पौडेलसँग पनि कुरा राखेको तर सुनुवाइ नभएको उनले बताए।

आफूले पार्टी परित्याग गरे पनि जनताको सहयोगले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई जनताको हितमा नै बजेट परिचालन गर्ने र भ्रष्टाचार हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरे।
नेपाल लाईभबाट साभार